खोटाङ, २५ फागुन । दिक्तेलबजारमा निःशुल्क दुई महिने लोकसेवा आयोग तयारी कक्षा सञ्चालन भईरहेको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको आर्थिक सहयोगमा नेपाल आदिवासी जनजाति विधार्थी महासंघ, खोटाङले दुई महिने तयारी कक्षा सञ्चालन गरेको हो ।
यही फागुन–२२ बाट जारी निःशुल्क कक्षामा ६० जना बिद्यार्थी सहभागी रहेको आदिवासी जनजाति विधार्थी महासंघका जिल्ला अध्यक्ष सोनामहाङ राईले बताउनुभयो । तयारी कक्षा दिक्तेलबजारको सरस्वती माविमा प्रत्येक दिन साँझ ५ बजेदेखि ७ बजेसम्म सञ्चालन भईरहेको अध्यक्ष राईले बताउनुभयो । दुई महिने कक्षामा खरिदार, नायब सुब्बा, प्रदेश निजामती र स्थानीय सेवाको सहायक चौथो र पाँचौेको तयारी कक्षा सञ्चालन भइरहेको अध्यक्ष राईको भनाई छ ।
महासंघले अघिल्लो बर्षहरुमा पनि निःशुल्क रुपमा तयारी कक्षाको ब्यवस्था गर्दैआएको थियो ।।
