फागुन–२५, खोटाङमा आयोजित ‘पाँचौ सोल्मा वडा कप पुरुष फुटबल प्रतियोगिता’को उद्घाटनमा उडाईएको ब्यानर भारतको सिलगुढीमा भेटिएको छ । आयोजक सोल्मा स्पोट्र्स क्लब सोल्माको खेल मैदानबाट उडाईएको बेलुनसहितको उद्घाटन ब्यानर भारतीय महिला आनान्या सरकारले भेटाएकी हुन् ।

पाँचौं संस्करणको उद्घाटन शनिबार कोशी प्रदेश सामाजिक विकास मन्त्री पाँचकर्ण राईले गर्नुभएको हो । बेलुन र ब्यानर फेला पारेकाबारे स्वयम आनन्याले आयोजकको आधिकारिक फेसबुक पेजमार्फत जानकारी गराएकी हुन् । पूर्बघोषणा अनुरुप उद्घाटनमा उडाईएको बेलुनसहितको ब्यानर फेला पार्ने ब्यक्तिलाई नगद पाँच हजार रुपैंयाँ पुरस्कार प्रदान गर्दै आएकोे क्लबका अध्यक्ष ध्रुवविक्रम राईले जनाउनुभयो । उद्घाटन ब्यानर भेट्ने आनन्यालाई पुरस्कार प्रदान गर्न र ब्यानर फिर्ता लिन आईतबार क्लबका प्रतिनिधि भारत पठाईएको आयोजकले बताएको छ ।

फागुन–२९ गते समापन हुने प्रतियोगिता दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मास्थित क्लबकै खेलमैदानमा सञ्चालन भईरहेको छ । १२ टीम सहभागी प्रतियोगिताका विजेताले १ लाख ३३ हजार ३ सय ३३ रुपैयाँ, उपविजेताले ७१ हजार १ सय ११ रुपैयाँ, सेमिफाइनलिष्ट दुई टिमले जनही ३५ हजार ५ सय ५५ रुपैयाँ नगद सहितका पुरस्कार प्राप्त गर्नेछन् । बिधागत पुरस्कारको समेत ब्यवस्था गरिएको छ ।
गायिका बबिना किराती र गायक पदम राईको बिशेष प्रस्तुति सहित समापन समारोहको तय गरिएको छ । सो दिन पूर्व निर्वाचित जनप्रतिनिधि, समाजसेवी र समाजमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने ब्यक्तिहरुलाई सम्मान गरिने समेत कार्यक्रम राखिएको आयोजकले जनाएको छ ।
