Monday, April 20

वैदेशिक रोजगारीले शहर केन्द्रित बसाइँ सर्नेक्रम बढ्दो

–रामधन राई
खोटाङ, २४ जेठ । वैदेशिक रोजगारीमा जानेक्रम बढेसँगै गाउँबाट बसाइँ सर्नेको सङ्ख्या पनि बढ्दो रहेको छ । वैदेशिक रोजगारीबाट भित्रिएको रेमिट्यान्सको कारण शहर केन्द्रित बसाइँ सर्नेको सङ्ख्या बढिरहेको पाइएको हो ।

रेमिट्यान्सकै कारण विशेषगरी शिक्षा तथा स्वास्थ्यको सुविधा खोज्दै बसाइँ सर्ने गरेका छन् । वैदेशिक रोजगारीमा जाने घरपरिवारका बालबच्चालाई गुणस्तरीय शिक्षा दिलाउने बहानामा सदरमुकाम लगायतका शहर बजारमा बसाइँ सर्ने मानिसको सङ्ख्या उल्लेख्य भेटिएको छ ।

जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेलबजारमा सञ्चालित निजी विद्यालयहरुमा प्रायः गाउँबाट आएका बालबालिकाहरु बढी अध्ययन गर्ने गर्दछन् । वैदेशिक रोजगारीमा गएका परिवारको प्रायः सबै जसो बालबच्चाहरुलाई निजी विद्यालयहरुमा पढाउने गरिएको सुरक्षित आप्रवासन परियोजना (सामी)ले जनाएको छ ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा पर्ने दिक्तेलबजारको अल्सेढुङ्गा क्षेत्रमा वडा नम्बर ११ खार्मीबाट मात्र नौँ घरपरिवार बसाइँ सरेर आएका छन् । ती सबै बालबच्चा निजी विद्यालयहरुमा पढाउन दिक्तेल सरेका हुन् ।

ती सबैको परिवारबाट वैदेशिक रोजगारीमा मलेसिया तथा खाडी मूलुक गएका छन् । कतिपयले सो क्षेत्रमा जग्गा किनेर टहरा बनाएर बसेका छन् भने, अधिकांश भाडामा बस्ने गरेका छन् ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा सञ्चालित ९३ वटा सामुदायिक विद्यालयमध्ये चार विद्यालयलाई विद्यार्थी सङ्ख्या मापदण्डका आधारमा समाहित (मर्ज) गरिएको छ । उस्तै तुलनामा जिल्लास्थित अन्य नौँ स्थानीय तहमा सञ्चालित विद्यालयसमेत मर्ज हुने अवस्था रहेको नगर शिक्षा समितिको नानीराम खत्रीले जनाउनुभयो ।

गाउँबाट शहर केन्द्रित बसाइँसराइका कारण गाउँका विद्यालय शून्य बन्दै गएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकास्थित कालिका मावि खार्मीका शिक्षक धनचन्द्र राईको भनाइ छ । सोही नगरपलिकाको दिक्तेल बजारस्थित हिलसाईड स्याम्पल एकेडेमीका शिक्षक राजहरि राईकाअनुसार अधिकांश विद्यार्थी गाउँबाट आएका रहेका छन् ।

बजारका अन्य क्षेत्रमा समेत गाउँबाट बसाई सरी आउनेको सङ्ख्या उल्लेख्य रहेको छ । यो पाँच बर्षको अवधिमा बसाइँ सर्ने घरपरिवारको संख्या हेर्दा विशेषगरी ग्रामीण क्षेत्र रित्तिदो अवस्थामा रहेको छ ।

आर्थिक सम्पन्नताका कारण थप सुविधा उपभोग गर्न गाउँबाट सहर सर्ने गरेको जनाइएको छ । यस अवधिमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाबाट एक हजार ८६ घरपरिवार बसाइँ सरेर अन्यत्र गएको पञ्जिकरण शाखाकी प्रमुख श्रीदेवी राईले बताउनुभयो । तीमध्ये अधिकांश वैदेशिक रोजगारीमा जाने परिवारको सङ्ख्या रहेको जनाइएको छ ।

यस्तै, खोटेहाङ गाउँपालिकाबाट एक हजार ५६, दिप्रुङ चुइचुम्मा गाउँपालिकाबाट ६६१ र हलेसी तुवाचुङ नगरपालिकाबाट ५२१ घरपरिवारले बसाइँसराइ गरेको सम्बन्धित पञ्जिकरण शाखाको तथ्याङ्कमा उल्लेख छ । बसाइँ सर्ने घरपरिवारको लहर अन्तरगत रावाबेँसी गाउँपालिकाका ५४३, ऐसेलुखर्क गाउँपालिकाका ४५३ र जन्तेढुङ्गा गाउँपलिकाका ३४५ घरधुरी रहेका छन ।

केपिलासगढी गाउँपालिकाबाट विभिन्न घरधुरीका एक हजार ७० जनाले बसाइँ सरेर अन्यत्र गएको पञ्जिकरण शाखाका प्रकाश रिमालले बताउनुभयो । यस्तै, बराहपोखरी गाउँपालिकाबाट पनि बसाइँसराइ गर्नेको सङ्ख्या उल्लेख्य रहेको गाउँपालिका प्रमुख शालिकराम बञ्जराको भनाइ छ ।

साकेला गाउँपालिकाबाट बसाइँ सर्ने पनि उस्तै सङ्ख्यामा रहेको जनाइएको छ । पछिल्लो तथ्याङ्कअनुसार कामकै लागि जिल्लाबाट मलेसिया तथा खाडी मूलुक जानेको सङ्ख्या प्रति वर्ष नौँ हजारको हाराहारीमा रहेको जिल्लामा सञ्चालित सुरक्षित आप्रवासन परियोजना (सामी)ले तथ्याङ्क राखेको छ ।

जिल्लाबाट श्रम गरेर जाने मात्र उक्त सङ्ख्यामा रहेको विदेशबाट फर्किएका व्यक्तिहरुको लागि पुनः एकीकरण परियोजना (रेमी)का जिल्ला संयोजक ओजोनबाबु आचार्यले बताउनुभयो । सो सङ्ख्याका युवामार्फत आएको रेमिट्यान्समध्ये चार प्रतिशत मात्र व्यवसायमूलक तथा उत्पादनमूलक क्षेत्रमा लगानी हुने गरेको जिल्ला संयोजक आचार्यकोे भनाइ छ ।

प्राप्त रेमिट्यान्समध्ये दश प्रतिशत बैङ्क तथा वित्तीय संस्थामा बचत गर्ने गरेको तथ्याङ्क छ । अन्य रकम भने शिक्षा तथा सुविधामूलक कार्यको लागि खर्च गर्ने गरेको जनाइएको छ ।
वैदेशिक रोजगारी तथा रेमिट्यान्ससँगै बसाइँ सर्ने सङ्ख्या बढेपछि समाजिक संरचनामा सन्तुलन बिग्रनुका साथै असुरक्षा महशुस हुने गरेको स्थानीय वृद्धवृद्धाहरु सुनाउँछन् । बढ्दो बसाइँसराइले गर्दा गाउँका खेतीयोग्य जमिनहरु बाँझिएका छन् ।

बाँदर लगायतका जङ्गली जनावारहरु गाउँ पस्न थालेको स्थानीयवासी बताउँछन् । वैदेशिक रोजगारीलाई भरपर्दो, सुरक्षित, मर्यादित, सम्मानित तथा उपलब्धिमूलक बनाउन जिल्लामा विविध सचेतनामूलक कार्यक्रमहरु सञ्चालन हुँदै आएको छ ।

सुरक्षित आप्रवासन परियोजना (सामी)ले स्थानीय तहसँको सहकार्यमा विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ । तथापि, वैदेशिक रोजगारी सुरक्षित र आशातित उपलब्धिमूलक हुन नसकिरहेको सामीले उल्लेख गरेको छ ।

सुरक्षित आप्रवासनको लागि सचेतनामूलक कार्यक्रमहरुका लागि कोशी प्रदेश सरकारले कार्यविधि तय गरेर कार्यान्वायन गर्दै आएको छ । प्रदेश सरकारले प्रत्यक्ष सरोकार र समन्वय गदै आएको जिल्ला संयोजक आचार्यले जनाउनुभयो ।

बचत गर्ने बानीको विकास
जिल्लाबाट वैदेशिक रोजगारीमा गएका घरपरिवारमा पछिल्लो समय बचत गर्ने बानीको विकास भएको पाइएको छ । सुरक्षित आप्रवासन परियोजना र स्थानीय तहले सञ्चालन गर्ने सचेतनामूलक कार्यक्रम अन्तरगत वित्तीय साक्षरता कक्षाले बचत गर्ने बानीको विकास भएको हो ।

वैदेशिक रोजगारीको सिलसिलामा विभिन्न देश पुगेका आफन्तले पठाएको पैसाले केही स्थानीय बासिन्दाले आम्दानीमूलक व्यवसाय शुरु गरेका छन् । व्यापार व्यवसाय, पशुपालन, तरकारी खेती आदि गर्ने स्थानीयहरु समेत रहेका छन् ।

सुरक्षित आप्रवासन (सामी) कार्यक्रमले सञ्चालन गरेको २१ हप्ते रेमिट्यान्स व्यवस्थापन र सदुपयोग सम्बन्धी वित्तीय साक्षरता कक्षापछि आम्दानी तथा बचत गर्न थालिएको गाउँका महिलाहरुले बताएका छन् । नुनथलाका साङडोमा शेर्पाले आफ्नो श्रीमानले कतारबाट पठाउने पैसालाई चाहिँदो मात्रामा घर खर्च गरेर बचत गर्न थालेको जानकारी दिनुभएको छ ।

बालबालिकाको फजुल खर्च घटाएर पसलसँगै बङ्गुर पालेर आम्दानी बढाउन थालेको शेर्पाको भनाइ छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले सञ्चालन गरेको सामी कार्यक्रम अन्तर्गत २१ दिने रेमिट्यान्स व्यवस्थापन र सदुपयोग सम्बन्धी वित्तीय साक्षरता कक्षापछि आम्दानी र बचत गर्न थालेको शेर्पाले बताउनुभयो ।

नुनथलाकै मिना राईले पनि आम्दानीमूलक कार्य थालेर बचत गर्न थालेको सुनाउनुभयो । दुबईमा रहेको छोराले पठाएको पैसालाई बढाउन डालो, नाङ्लो, थुन्से लगायतका सागम्री बुन्ने व्यवसायमा लगानी गरेको मिनाले बताउनुभयो ।

वित्तीय साक्षरता कक्षा लिएपछि विदेशबाट आएको पैसालाई फजुल खर्च नगरी सही ठाउँमा सदुपयोग र बचत गर्नुपर्छ भन्ने चेतना आएको स्थानीय महिलाहरुले बताएका छन् । शेर्पा र राईले जस्तै नुनथलाबाट वैदेशिक रोजगारीमा गएकाको सबैजसो परिवारले आम्दानी र बचत गर्ने अभ्यासमा लागेका छन् ।

वैदेशिक रोजगारमा संलग्न परिवारमध्ये ७६ प्रतिशतले व्यवसायिक योजना बनाएर विभिन्न व्यवसाय अपनाइ आयआर्जन शुरु गरेको जनाइएको छ । वित्तीय साक्षरता कक्षामा रेमिट्यान्स सदुपयोग, व्यवस्थापन गर्दै उद्यमशीलता विकास आय आर्जनमा वृद्धि, व्यवसायिकता, आर्थिक, व्यवहारिक विषयवस्तुहरुमा छलफल गर्ने गराउने गरिन्छ ।

सिकेको सीपको सदुपयोग
वैदेशिक रोजगारीमा गएर फर्किएका कतिपय युवाले त्यस देशमा सिकेका सीपलाई स्वदेशमा सदुपयोग गर्ने गरेका छन् । काम गर्ने सिलसिलामा विदेशमा जानेका सिपलाई स्वदेश अर्थात गाउँठाउमा नै सदुपयोग गरी आम्दानी तथा स्वरोगार बन्ने युवा पनि जिल्लामा रहेका छन् ।

केही युवाहरुले प्लम्बिङ, कार्पेण्टर, मेसन जस्ता कार्यहरु सिकेर आएको र गाउँठाउँमा त्यसैलाई पेशा बनाएका छन् । केही युवा भने वैदेशिक रोजगारी त्यागेर गाउँमै आम्दानीमूलक व्यवसाय गरिरहेका छन् ।

विशेषगरी तरकारी खेती, पशुपञ्क्षी पालन, माछापालन जस्ता कार्यमा जुटेका छन् । केही ठाँउका युवा भने वैदेशिक रोजगारी छाडेर सामुहिक कृषि व्यवसाायमा जुटेर गाउँमै आम्दानीको बाटो बनाईरहेका छन् ।

बसाइँसराइ निरुत्साहित गर्नका लागि जिल्लाका स्थानीय तहहरुले गाउँ फर्की आउनेलाई प्रोत्साहन गर्दै आएका छन् । साकेला गाउँपालिकाले बसाइँ सरेर गाउँ आउनेलाई प्रोत्साहन अर्थात पुनः स्थापित हुनका लागि प्रति परिवार रु पाँच हजार प्रदान गर्ने निर्णय गरेको छ । अन्य पालिकाले समेत बसाइँसराइ सरेर आउनेलाई प्रोत्साहन गर्ने गरेको छ ।

वैदेशिक रोजगारी र ठगीको सिलसिला
वैदेशिक रोजगारीमा गएकाहरुमध्ये अधिकांश आफन्तबाटै ठगिने गरेका छन् । विदेश पठाइदिने भन्दै एजेण्ट तथा मेनपावरहरुले ठग्ने र धम्कीसमेत दिने गरेको पीडितहरुले बताएका छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ दिक्तेल सोल्माकी सानी दाहालले आफ्नो छोरा र भाञ्जालाई माल्टा पठाइदिने भनेर सोही वडा मुडेका निमदावा शेर्पाले रु २० लाख ठगेको पीडा सुनाउनुभयो ।

करिब तीन वर्षअघि माल्टा पठाइदिने भनेपछि शेर्पालाई पैसा दिएपछि उनी सम्पर्कविहीन भएको दाहालले सुनाउनुभयो । साहुबाट काढेको ऋण तिर्न नसक्दा छोरा अहिले कतारमा रहेको जनाइएको छ । दाहाल परिवारले शेर्पालाई आईएमईमार्फत र नगद गरी रु २० लाख बुझाएका थिए ।

यस्तै, जापान पठाइदिने भन्दै दिक्तेलकै सरोज सुन्दासलाई उनै शेर्पाले रु चार लाख ठगेको तर, जापान नपठाएपछि दबाब दिएर सबै पैसा फिर्ता लिइएको सुन्दासले बताउनुभयो । ठगी गर्ने शेर्पाले बारम्बार फोन नम्बर परिवर्तन गर्ने गरेको र अहिले फ्रान्स वा क्रोएसियामा रहेको चर्चा चल्ने गरेको छ ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ दिक्तेल सोल्माका प्रेम पुरी (हाल बेलबारी मोरङ) ले दिक्तेलका पाँच जनालाई दुबई र एक जनालाई जापान पठाइदिने भन्दै रु आठ लाख ९५ हजार ठगी गरेर सम्पक विहीन भएपछि पीडितहरुले जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएका थिए । पुरीले दुबइको सेराटन होटलमा पठाइदिने भनि दिक्तेलका इन्द्रबहादुर खड्का (माइकल), कर्णबहादुर खडका, राजेन्द्र खड्का, डिल्ली खत्रीबाट रु ५०–५० हजार, सोमबहादुर भण्डारीबाट रु ३५ हजार र जापान पठाइदिने भन्दै बाबुराम खड्काबाट रु छ लाख ६० हजार ठगी गरेका हुन् ।

पीडितहरुले पुरीलाई वि.सं. २०७५ माघ–८ गते आईएमईमाफर्त पैसा पठाएको प्रमाणहरुबाट देखिन्छ । काठमाडौँस्थित शम्भुमार्गमा रहेको एक मेनपावरले मलेसिया जानलाई प्रतिव्यक्ति रु तीन लाख २० हजारदेखि रु तीन लाख ५० हजारसम्म लिएको एकजना पीडितले बताएका छन् ।

पैसा दिएको बिल माग्दा कसैलाई दिने नगरेको भन्दै बिल दिन नमानेको उनीहरुले बताएका छन् । एयरपोर्टमा कसैले सोधेको खण्डमा रु दश हजार तिरेको भन्नु भनेर मेनपावरले सिकाउने गरेको पीडितको भनाइ छ ।