Monday, April 20

स्वच्छ, निष्पक्ष र मर्यादित निर्वाचन गराउन काँग्रेस खोटाङको आग्रह

खोटाङ, ७ माघ । नेपाली काँग्रेस जिल्ला कार्यसमिति खोटाङले आगामी फागुन–२१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष र मर्यादित रुपमा सम्पन्न गर्न सबै राजनीतिक दल, उम्मेदवार, सम्बन्धित निकाय तथा आम नागरिकलाई आव्हान गरेको छ । काँग्रेस खोटाङले आज (बुधबार) दिक्तेल बजारस्थित वी.पी. स्मृति भवनमा पत्रकार सम्मेलन आयोजना गरेर यस्तो आग्रह गरेको हो ।

पत्रकार सम्मेलनलाई सम्बोधन गर्नुहुँदै पार्टी उपसभापति तीर्थराज भट्टराईले मुलुक अहिले जटिल र संवेदनशील मोडमा रहेको उल्लेख गर्नुहुँदै हजारौं शहीदको बलिदान र लाखौँ नागरिकको सङ्घर्षबाट प्राप्त लोकतान्त्रिक व्यवस्थाको रक्षा गर्नु सबैको साझा दायित्व भएको बताउनुभएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुखसमेत रहनुभएका काँग्रेस उपसभापति भट्टराईले निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र मर्यादित ढङ्गले सम्पन्न गर्न जिल्लास्थित सबै सरोकारवा निकाय, राजनीतिक दल र उम्मेदवारले सम्यमता अपनाउनुपर्नेमा जोड दिनुभएको छ ।

निर्वाचनका क्रममा हुने हिंसा, धम्की, प्रलोभन, आचारसंहिता उल्लङ्घन तथा अवाञ्छित गतिविधि लोकतन्त्रका लागि घातक हुने भन्नुहुँदै उपसभापति भट्टराईले त्यस्ता कार्य नर्गन÷नगराउन आग्रह गर्नुभएको छ । काँग्रस स्थापना कालदेखिनै लोकतन्त्र, प्रेस स्वतन्त्रता र मानव अधिकारका पक्षमा निरन्तर सङ्घर्ष गर्दै आएको पार्टी भएको उल्लेख गर्नुहुँदै उपसभापति भट्टराईले आगामी निर्वाचन लोकतन्त्रलाई थप सुदृढ बनाउने महत्वपूर्ण अवसर भएको धारणा राख्नुभयो ।

जिल्लामा क्रियाशील पत्रकारहरुको सहभागिता रहेको पत्रकार सम्मेलनमा उपसभापति भट्टराईले निर्वाचन आयोग नेपालबाट स्वीकृत निर्वाचन आचारसंहिता तथा सर्वदलीय बैठकबाट भएका निर्णयहरु अक्षरशः पालना गर्न सबै दल र उम्मेदवारलाई अनुरोध गर्नुभएको छ । उपसभापति भट्टराईले नेपाल सरकारले घोषणा गरेको निर्वाचनलाई राष्ट्र निर्माणको साझा अवसरका रुपमा उपयोग गर्दै आपसी सहिष्णुता, सद्धाव र सम्यमता कायम गर्न सबैलाई आव्हान गर्नुभएको छ ।

उपसभापति भट्टराईले पार्टी नेता तथा कार्यकर्तालाई काँग्रेसबाट उम्मेदवार बन्नुभएका वीरकाजी राईलाई विजयी गराइ खोटाङको समग्र विकास र नागरिकको समृद्धिका लागि एकताबद्ध हुन आग्रहसमेत गर्नुभएको छ । उपसभापति भट्टराईले उम्मेदवारी दर्ताका क्रममा निर्वाचन आचारसंहिता उल्लङ्घन भएको विषयमा पार्टीले आत्मसमिक्षा गर्दै आगामी दिनमा निर्वाचन आयोगले तोकेको मापदण्ड तथा सर्वदलीय बैठकका निर्णयहरू पूर्ण रूपमा पालना गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

पत्रकार सम्मेलनमार्फत काँग्रेस खोटाङले निर्वाचन लक्षित पाँच बुँदे पार्टीको अवधारणपत्र समेत सार्वजनिक गरेको छ । काँग्रेस नेता तथा कार्यकर्तालाई खोटाङको विकास र नागरिकको समृद्धिका लागि आफ्नो पार्टीका उम्मेदवारको पक्षमा भोट माग्न नागरिकको घरदैलोमा एकताबद्ध भएर जानसमेत आग्रह गरेको छ ।