Monday, April 20

प्रतिनिधिसभा सदस्य निर्वाचन : छ जना पूर्वसांसदसहित जनताको घरदैलोमा डा. हरि रोका

खोटाङ, ७ माघ । अर्थ तथा बाम राजनीतिक विश्लेषक डा. हरि रोकाले आगामी फागुन–२१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि चुवानी अभियान सुरु गर्नुभएको छ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)को तर्फबाट खोटाङमा उम्मेदवारी दर्ता गराउनुभएका डा. रोकाले जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारबाट जनतासँग प्रत्यक्ष भेटघाटका लागि बुधबारबाट घरदैलो अभियान सुरु गर्नुभएको हो ।

राजनीतिक दलको साधारण सदस्यसमेत नरहनुभएका डा. रोका आगामी निर्वाचनका लागि नेकपाको तर्फबाट उम्मेदवारी दर्ता गरेर चुनावी अभियानमा होमिनुभएसँगै जिल्लाका छ जना पूर्व सांसदहरुले साथ दिनुभएको छ । दिक्तेलस्थित किरातचोकबाट घरदैलो अभियान सुरु गर्नुभएका डा. रोकालाई जनताको बीचमा लगेर विजयी गराउन पूर्व सांसदहरु टंक राई र कुलप्रसाद फुयाल, संविधानसभा सदस्यहरु समिता कार्की ‘अस्मिता’ र दुर्गाजयन्ती राई, प्रतिनिधिसभा सदस्य एवम् कोशी प्रदेश सरकारका पूर्वउर्जा, जलश्रोत तथा खानेपानीमन्त्री रामकुमार राई ‘पासाङ’ र कोशी प्रदेश सरकारकै पूर्वसामाजिक विकासमन्त्री राजन राईले साथ दिनुभएको हो ।

डा. रोकाले कृषकको आवाज बनेर प्रतिनिधिसभामा छिर्नका लागि आफूले यस पटकको निर्वाचनमा नेकपाको तर्फबाट उम्मेदवारी दिएको प्रतिक्रिया दिनुभएको छ । “म चार वर्षदेखि गाउँमै कृषि व्यवसाय गरिरहेको मान्छे हुँ । मेरो मन बदलिएको छैन । अहिले पनि म किसान नै हुँ”, उहाँले भन्नुभयो, “अहिले म कृषकहरुको माझमा बसेर हलो÷कोदालो चलाइरहेको छु । प्रतिनिधिसभा सदस्यमा निर्वाचनमा विजयी भएर गएपछि पनि मेरो आवाज कृषकहरुकै पक्षमा हुनेछ ।”

संविधानसभा सदस्यसमेत रहनुभएका डा. रोकाले हामीले कस्तो खालको कृषि गरियो भने उन्नति हुन्छ र कस्तो नीति चाहिन्छ भनेर आफूले अनुभव गरिरहेको बताउँदै निर्वाचन जितेपछि कृषककै पक्षमा बोल्ने र लागिरहने बताउनुभएको छ । “म सामान्य किसान जस्तै भएर बाँचौ भन्ने हो । डा. लेखेर सामान्य किसानसँगको दूरी नबढोस् भनेरै मैले नामको अगाडि अहिलेसम्म डा. लेखेको छैन”, उहाँले भन्नुभएको छ, “सामान्य किसानहरुसँग मिल्न र उनीहरुको भावना बुझ्न भनेरै गाउँ फर्किएर बस्न थालेको छ । गाउँमा बसेर कृषि पेशा गर्न धेरै समस्या छ । यसलाई नीतिगत रुपमै सुधार गर्न आवश्यक देखेको छु । निर्वाचनपछि संसद् छिरेर त्यो कुरा उठाउनेछु ।”

डा. रोकालाई अर्थमन्त्री बनाउने सर्तसहित पार्टी संयोजक एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यस पटकको निर्वाचनमा टिकट दिनुभएको जिल्ला संयोजक दीपक पाण्डे ‘आकाश’ले जानकारी दिनुभएको छ । पार्टीका सहयोजक एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल लगायतका केन्द्रीय नेताहरुको उपस्थितिमा डा. रोकालाई संयोजक प्रचण्डले टिकट दिनुभएको हो ।

डा. रोकालाई प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारको टिकट दिनुहुँदै संयोजक प्रचण्डले नेपालका सुप्रसिद्ध बाम राजनीतिक तथा अर्थ विश्लेषक नेकपाको अभियानमा जोडिदा देशभर बलियो सन्देश प्रवाह भएको प्रतिक्रिया दिनुभएको छ । संयोजक प्रचण्डले डा. रोकालाई प्रतिनिधिसभा सदस्यमा जिताएर पठाएको खण्डमा अर्थमन्त्री बनाउने आश्वसन दिनुभएको भिडियो क्लिप्ससमेत सार्वजनिक भएको छ ।

दिप्रुङ चुइचुम्मा गाउँपालिका–२ डाँडागाउँस्थित खुतुम्बुका स्थानीयवासी मेघबहादुर रोका र विष्णुमायाँ रोकाको कोखबाट वि.सं. २०१६ असोज–१५ गते कान्छो सन्तानका रुपमा जन्मनुभएका डा. रोका संविधानसभा सदस्यसमेत हुनुहुन्छ । वि.सं. २०३४ सालदेखि बामपन्थी राजनीतिमा सक्रिय डा. रोकाले प्रतिनिधिसभा सदस्यको प्रत्यक्षतर्फको उम्मेदवारका लागि नेकपाबाट टिकट लिनुभएपछि पार्टीका नेता तथा कार्यकर्ताहरु सत्साहित बनेका छन् ।

वि.सं. २०३१ सालमा एसलसी उत्तिर्ण गर्नुभएका डा. रोकाले वि.सं. २०७३ सालमा अर्थशास्त्रमा विद्यावारिधि (पिएचडी) उत्तिर्ण गर्नुभएको छ । राजनीतिक कामका लागि सक्रिय हुँदा पञ्चायतकालमा सात वर्ष नौँ महिना जेल जीवन बिताउनुभएका डा. रोका आठ महिना हिरासतमा समेत बस्नुभएको थियो ।

आगामी निर्वाचनका लागि खोटाङमा नेकपाका डा. रोकासँगै दुई स्वतन्त्रसहित १५ जनाको उम्मेदवारी दर्ता भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । दश स्थानीय तह रहेको खोटाङमा नेकपा, नेपाली काँग्रेस र नेपाल कम्युनिष्ट (एमाले)बीच त्रिपक्षीय प्रतिस्पर्धा हुने देखिएको राजनीतिक विश्लेषकहरुले बताएका छन् ।

काँग्रेसबाट महाधिवेशन प्रतिनिधि वीरकाजी राई र नेकपा एमालेबाट जिल्ला अध्यक्ष देवबिक्रम राईले उम्मेदवारी दिनुभएको छ । यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट रुद्र गिरी, जनता समाजवादी पार्टी (जसपा)बाट राकेश राई, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट दीपक तामाङ, जनता समाजवादी पार्टी नेपालबाट सुनिल चाम्लिङ, श्रम संस्कृति पार्टीबाट आरेन राई, नेपाल कम्युनिष्ट पार्टी (माओवादी)बाट चन्द्र बुढाथोकी ‘शैलेस’, नेपाल मदजुर किसान पार्टीबाट ध्यानप्रसाद ढकाल, राष्ट्रिय परिवर्तन पार्टीबाट मिरेश राई, मङ्गोल नेशनल अर्गनाइजेशन पार्टीबाट प्रयाग राई र मितेरी पार्टी नेपालबाट केशरमान चाम्लिङले उम्मेदवारी दर्ता गराउनुभएको छ ।

यस्तै, डा. राजकुमार राई र तीलकचन्द्र राईले स्वतन्त्र उम्मेदवारी दर्ता गराउनुभएको निर्वाचत अधिकृतको कार्यालयले जनाएको छ । स्वतन्त उम्मेदवारी दर्ता गराउनुभएका डा. राई काँग्रेसको पार्टी सदस्यता परित्याग गरेर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गरेलगत्तै जिल्ला सभापतिमा पराजित हुनुभएको व्यक्ति हुनुहुन्छ ।