
खोटाङ, ७ माघ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुइपामा सुरु भएको सर्वाधिक राशिको ‘प्रभुराम राई कप–२०८२’ आमन्त्रित फुटबल प्रतियोगितामा आयोजक बुइपा–११ स्पोर्टस क्लबले विजयी यात्रा सुरु गरेको छ । बुइपास्थित यलम्बर खेलमैदानमा बुधबार बेलुका भएको उद्घाटन खेलमा बुइपा–११ ले ऐसेलुखर्क गाउँपालिकालाई ४–० को फराकिलो अन्तरले पराजित गर्दै विजयी यात्रा सुरुवात गरेको हो ।
आयोजक बुइपा–११ का लागि प्रविन राईले दुई गोल तथा डिकेन राई र मिलन राईले एक–एक गोल गर्नुभएको थियो । खेलमा बुइपा–११ का लागि दुई गोल गर्नुभएका प्रविन राई म्यान अफ दि म्याच घोषित हुनुभएको छ ।
छनोट चरणको जितसँगै आयोजक बुइपा–११ क्वाटरफाइनलमा प्रवेश गरेको आयोजकले जानकारी दिएको छ । यही माघ–११ गतेसम्म सञ्चालन हुने आमन्त्रित फुटबल प्रतियोगिता अन्तरगत भोलि माघ–८ गते बिहीबार तीन खेल हुने जनाइएको छ ।
पहिलो खेल खरम्बु स्पोर्टस क्लबले खोटाङ फुटबल एकेडेमीसँग खेल्नेछ भने, दोस्रो खेल सृजना युथ क्लब र नेर्पो स्पोर्टस क्लबबीच हुने जनाइएको छ । त्यस्तै, तेस्रो खेल रणभीम गण मुडे ब्यारेक र गछिया युवा क्लबबीच हुने आयोजकले जानकारी दिएको छ ।
बुइपाका स्थायी बासिबन्दा ८२ वर्षीय वृद्ध प्रभुराम राईको सम्मानमा उहाँका परिवारको प्रायोजन तथा बुइपा–११ स्पोर्टस क्लब बुइपाको आयोजनामा सुरु भएको प्रतियोगिताको विजेताले नगद रु तीन लाखसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ । प्रतियोगिताको उद्घाटन अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का महासचिव किरन राईले गर्नुभएको छ ।
जिल्लाभित्रका छ तथा बाहिरी जिल्लाका चारवटा क्लबगरी दश टोलीको सहभागिता रहेको प्रतियोगिताका उपविजेताले नगद रु एक लाख ५१ हजारको साथमा ट्रफी, मेडल र प्रमाणपत्र तथा सेमिफाईनलिष्ट दुई समूहलाई नगद रु ५०÷५० हजारको साथमा मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ । हरेक खेलमा म्यान अफ दि म्याच घोषणा गरिने आमन्त्रित फुटबल प्रतियोगिता अवधिभरका सर्वोउत्कृष्ट खेलाडीलाई नगद रु २० हजारको साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने क्बलका पूर्वसचिव ओमप्रकाश घिमिरेले जानकारी दिनुभएको छ ।
विद्यागत पुरस्कारमा सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर, उदयीमान खेलाडी र उत्कृष्ट प्रशिक्षकलाई समेत नगदसहित पुरस्कृत गरिने जनाइएको छ । विद्यागत पुरस्कारको राशि जनही नगद रु १५÷१५ को साथमा ट्रफी, मेडल र प्रमाणपत्र हुने आयोजकले जनाएको छ ।
खेल क्षेत्रको समग्र विकासमा लाग्नुभएका बुबा प्रभुराम राईको सम्मान गर्दै जिल्लामा राष्ट्रियस्तरका फुटबल खेलाडी उत्पादन गर्ने उद्धेश्यले पहिलो पटक आमन्त्रित पुरुष फुटबल प्रतियोगिता आयोजना गरिएको जेठा छोरा दिनेश राईले जानकारी दिनुभएको छ । तत्कालीन बुइपा गाउँ पञ्चायतका निर्वाचित प्रधानपञ्च तथा पूर्व बृटिस गोर्खा सैनिकसमेत रहनुभएका प्रभुरामको अतुलनीय योगदानलाई कदर गर्दै उहाँको सम्मानमा परिवारका सदस्यहरुले आमन्त्रित पुरुष फुटबल प्रतियोगिता आयोजना गरेको हो ।
फुटबल खेलको विकास गर्दै जिल्लाबाट राष्ट्रियस्तरका व्यवसायिक खेलाडी उत्पादन गर्ने उद्देश्यले बुइपा–११ स्पोर्टस् क्लब स्थापना गरेदेखि अहिलेसम्म क्लबको अध्यक्ष रहनुभएका प्रभुरामले बुइपाको राजावासमा आफ्नै खेलमैदान निर्माण गर्नुभएको छ । प्रभुरामले नेतृत्व गर्नुभएको बुइपा–११ स्पोर्टस् क्लबमा आवद्ध खेलाडीहरु जिल्ला विजेता हुँदै गत वर्ष कोशी प्रदेश फुटबल सङ्घले सुनसरीको धरानमा आयोजना गरेको प्रदेश लिग फुटबल प्रतियोगिता–२०८१ मा उपविजेता बनेको थियो ।
