
खाेटाङ, २२ फागुन । खाेटाङमा दिउँसो साढे तीन बजेबाट मत गणना सुरु गर्ने सर्वदलीय बैठकले निर्णय गरेकाे छ । मुख्य निर्वाचन अधिकृतकाे कार्यालय खाेटाङमा बसेकाे सर्वदलीय बैठकले जिल्लाका सबै वडाकाे छुट्टाछुट्टै मत गणना गर्ने निर्णय गरेकाे हाे ।
बैठकले भण्डारण गरेर राखिएको ठाउँकाे सबैभन्दा बाहिर रहेकाे मतपेटिकाबाट गणना सुरु गर्ने निर्णय गरेकाे छ । दश स्थानीय तह रहेकाे जिल्लामा ७९ वटा वडा रहेकाे छ ।
मत गणना गर्नका लागि मुख्य निर्वाचन अधिकृतकाे कार्यलयमा दुईवटा गणनास्थल निर्माण गरिएकाे छ । फागुन-२१ गते भएकाे सम्पन्न भएकाे निर्वाचनमा खसेकाे मतकाे मतपेटिका फागुन-२२ गते बिहानमात्रै मुख्य निर्वाचन अधिकृतकाे कार्यालयमा ल्याइपुर्याइएकाे हाे ।
प्रतिनिधिसभातर्फ एउटामात्र निर्वाचन क्षेत्र रहेको जिल्लामा ३० हजार ३५ जना महिला र ३३ हजार जना पुरुष गरि ६३ हजार ३५ जना मतदाताले मतदान गरेका छन् । जिल्लाभर १३६ मतदानस्थल, १९५ मतदान केन्द्र र दुईवटा अस्थायी मतदान केन्द्र सञ्चालन गरिएकाे थियाे ।
जिल्लामा शान्तिपूर्ण वातावरणमा मतदान सकिएको र आज साढे तीन बजेबाट मत गणना सुरु गर्ने निर्णय गरिएकाे मुख्य निर्वाचन अधिकृत एवम् जिल्ला न्यायाधीश फणिन्द्रप्रसाद पराजुलीले जानकारी दिनुभएकाे छ । एक लाख ४७ हजार १२० मतदाता रहेकाे जिल्लामा ४३ प्रतिशतमात्रै मत खसेकाे जिल्ला निर्वाचन कार्यालय खाेटाङले जनाएको छ ।
जिल्लामा दुई जना स्वतन्त्रसहित १५ जना उम्मेदवार रहेका छन् । नेपाली काँग्रेसबाट वीरकाजी राई, नेपाल कम्युनिष्ट पार्टी (एमाले)बाट देवबिक्रम राई, नेपाली कम्युनिष्ट पार्टी (नेकपा)बाट डा. हरि राेका, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट रुद्र गिरी, जनता समाजवादी पार्टी (जसपा)बाट राकेश राई, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट दीपक तामाङ, जनता समाजवादी पार्टी नेपालबाट सुनिल चाम्लिङ, श्रम संस्कृति पार्टीबाट आरेन राई, नेपाल कम्युनिष्ट पार्टी (माओवादी)बाट चन्द्र बुढाथोकी ‘शैलेस’, नेपाल मदजुर किसान पार्टीबाट ध्यानप्रसाद ढकाल, राष्ट्रिय परिवर्तन पार्टीबाट मिरेश राई, मङ्गोल नेशनल अर्गनाइजेशन पार्टीबाट प्रयाग राई र मितेरी पार्टी नेपालबाट केशरमान चाम्लिङ तथा डा. राजकुमार राई र तीलकचन्द्र राईले स्वतन्त्र उम्मेदवारी रहनुभएको छ ।
यस पटककाे निर्वाचनमा पुरानै राजनीतिक दल (नेपाली काँग्रेस, नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाली कम्युनिष्ट पार्टी)बीच प्रतिस्पर्धा हुने राजनीतिक विश्लेषकहरूले बताएका छन् । यद्यपि, श्रम संस्कृति पार्टी पनि प्रतिस्पर्धामा रहेकाे देखिएकाे छ ।
