
खाेटाङ, २२ फागुन । खाेटाङमा भर्खरैबाट मत गणना सुरु भएकाे छ । केपिलासगढी गाउँपालिका- ३ बास्पानी र साेही गाउँपालिकाकाे वडा नं. ४ बाक्सिलाबाट मत गणना सुरु गरिएकाे हाे ।
मुख्य निर्वाचन अधिकृतकाे कार्यालय खाेटाङमा दिउँसाे १:०० बजे बसेकाे सर्वदलीय बैठकले भण्डारण गरेर राखिएको ठाउँकाे सबैभन्दा बाहिर रहेकाे मतपेटिकाबाट गणना सुरु गर्ने निर्णय गरेकाे थियाे । सर्वदलीय बैठकले दिउँसो ३:३० बजेबाट मत गणना सुरु गर्ने निर्णय गरेपनि प्राविधिक कारणले अपरान्ह ४:५० बजेबाट मात्रै सुरु गरिएकाे हाे ।
दश स्थानीय तह रहेकाे जिल्लामा ७९ वटा वडा रहेकाे छ । मत गणना गर्नका लागि मुख्य निर्वाचन अधिकृतकाे कार्यलयमा दुईवटा गणनास्थल निर्माण गरिएकाे छ ।
एउटा गणनास्थलमा एक पटकमा दुई/दुईवटा मतदानस्थलकाे मत मिसाएर गणना सुरु गरिएकाे मुख्य निर्वाचन अधिकृत एवम् जिल्ला न्यायाधीश फणिन्द्रप्रसाद पराजुलीले जानकारी दिनुभएकाे छ । एक पटक खाेलिएका मतपेटिकाकाे गणना सकिएपछि नतिजा सार्वजनिक गर्ने निर्णय गरिएकाे छ ।
फागुन-२१ गते भएकाे सम्पन्न भएकाे निर्वाचनमा खसेकाे मतकाे मतपेटिका फागुन-२२ गते बिहानमात्रै मुख्य निर्वाचन अधिकृतकाे कार्यालयमा ल्याइएकाे थियाे।
प्रतिनिधिसभातर्फ एउटामात्र निर्वाचन क्षेत्र रहेको जिल्लामा ३० हजार ३५ जना महिला र ३३ हजार जना पुरुष गरि ६३ हजार ३५ जना मतदाताले मतदान गरेका छन् ।
जिल्लाभर १३६ मतदानस्थल, १९५ मतदान केन्द्र र दुईवटा अस्थायी मतदान केन्द्र सञ्चालन गरिएकाे थियाे । जिल्लामा सञ्चालन भएकाे मतदान साैहार्दपूर्ण वातावरण मा सम्पन्न भएकाे मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएकाे छ ।
एक लाख ४७ हजार १२० मतदाता रहेकाे जिल्लामा ४३ प्रतिशतमात्रै मत खसेकाे जिल्ला निर्वाचन कार्यालय खाेटाङका प्रमुख रविन मगरले जानकारी दिनुभएको छ । जिल्लामा दुई जना स्वतन्त्रसहित १५ जना उम्मेदवार रहेका छन् ।
नेपाली काँग्रेसबाट वीरकाजी राई, नेपाल कम्युनिष्ट पार्टी (एमाले)बाट देवबिक्रम राई, नेपाली कम्युनिष्ट पार्टी (नेकपा)बाट डा. हरि राेका, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट रुद्र गिरी, जनता समाजवादी पार्टी (जसपा)बाट राकेश राई, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट दीपक तामाङ, जनता समाजवादी पार्टी नेपालबाट सुनिल चाम्लिङ, श्रम संस्कृति पार्टीबाट आरेन राई, नेपाल कम्युनिष्ट पार्टी (माओवादी)बाट चन्द्र बुढाथोकी ‘शैलेस’, नेपाल मदजुर किसान पार्टीबाट ध्यानप्रसाद ढकाल, राष्ट्रिय परिवर्तन पार्टीबाट मिरेश राई, मङ्गोल नेशनल अर्गनाइजेशन पार्टीबाट प्रयाग राई र मितेरी पार्टी नेपालबाट केशरमान चाम्लिङ तथा डा. राजकुमार राई र तीलकचन्द्र राईले स्वतन्त्र उम्मेदवारी रहनुभएको छ ।
यस पटककाे निर्वाचनमा पुरानै राजनीतिक दल (नेपाली काँग्रेस, नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाली कम्युनिष्ट पार्टी)बीच प्रतिस्पर्धा हुने राजनीतिक विश्लेषकहरूले बताएका छन् । यद्यपि, श्रम संस्कृति पार्टी पनि प्रतिस्पर्धामा रहेकाे देखिएकाे छ ।
