
खाेटाङ, २२ फागुन । खाेटाङमा श्रम संस्कृति पार्टीका उम्मेदवार आरेन राईकाे सुरुवाती अग्रता भएकाे छ । केपिलासगढी गाउँपालिकाकाे एक हजार ८७ मत गणना हुँदा आरेनले ४०६ मत प्राप्त गर्दै सुरुवाती अग्रता लिनुभएकाे हाे ।
नेपाली काँग्रेसका वीरकाजी राईले ३२६, नेपाल कम्युनिष्ट पार्टी (एमाले)का देवबिक्रम राईले १०६, नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का डा. हरि राेकाले ११९, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का रुद्र गिरीले २२, राष्ट्रिय परिवर्तन पार्टीका मिरेश राईले २७, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का दीपक तामाङले छ, जनता समाजवादी पार्टी नेपालका सुनिल चाम्लिङले दुई, नेपाल कम्युनिष्ट पार्टी (माओवादी)का चन्द्रबहादुर बुढाथाेकी ´सैलेश`ले तीन, जनता समाजवादी पार्टी (जसपा)का राकेश राईले दुई, मङ्गाेल नेशनल अर्गनाइजेसन पार्टीका प्याग राईले एक र स्वतन्त्र उम्मेदवार तिलकचन्द्र राईले एक मत प्राप्त गर्नुभएकाे छ । नेपाल मजदुर किसान पार्टीका ध्यानप्रसाद ढकाल र स्वतन्त्र उम्मेदवार डा. राजकुमार राईकाे शून्य मत रहेकाे मुख्य निर्वाचन अधिकृत एवम् जिल्ला न्यायाधीश फणीन्द्रप्रसाद पराजुलीले जानकारी दिनुभएकाे छ ।
केपिलासगढी गाउँपालिका आरेन र वीरकाजीकाे गृह पालिका हाे । जम्मा खसेकाे मतमध्ये ६४ मत बदर भएकाे मुख्य निर्वाचन अधिकृतकाे कार्यालयले जनाएकाे छ ।
एक लाख ४७ हजार १२० मतदाता रहेकाे जिल्लामा ६३ हजार ३५ मत मात्र खसेकाे जनाइएकाे छ । मत गणनाका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालयमा दुईवटा मतगणनास्थल निर्माण गरेर गणना सुरु गरिएकाे जिल्ला निर्वाचन कार्यालय खाेटाङका प्रमुख रविन मगरले जानकारी दिनुभएको छ ।
