
खोटाङ, १४ वैशाख । नेपाली सेनाको रणभीम गण मुडे ब्यारेक खोटाङ ‘वाहिनीपति ट्रफी–२०८३’ अन्तरगतका चार खेलमा स्वर्ण पदक हासिल गर्दै च्याम्पियन बनेको छ । वाहिनी अड्डा अन्तरगत विभिन्न जिल्लाका ब्यारेकमा आयोजना गरिएको नौँ विद्याका खेलहरुमध्ये भलिबल, बास्केटबल, स्वीमिङ र एथलेटिक्स प्रतियोगितामा स्वर्ण पदक हासिल गर्दै गण तेस्रो पटक च्याम्पियन बनेको हो ।
वि.सं. २०८१ सालदेखि लगातार तीनपटक च्याम्पियन बनेसँगै रणभीम गणले वाहिनीपति ट्रफीको रनिङ शिल्ड पचाउन सफल भएको छ । लगातार तीन पटक च्याम्पियन भएसँगै बाहिनी अड्डा अन्तरगतका गणहरुमध्ये रणभीम गण सर्वोत्कृष्ट भएको वाहिनी अड्डा उदयपुरले जनाएको छ ।
रणभीम गण च्याम्पियन बनेसँगै नम्बर १८ बाहिनी अड्डा भुल्के उदयपुरका वाहिनीपति सहायकरथी बिमलकुमार बस्नेतले गणका गणपति प्रमुख सेनानी केदारप्रसाद लामिछानेलाई ट्रफी प्रदान गर्नुभएको छ । वाहिनी अड्डामा शनिबार आयोजना गरिएको समापन कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै वाहिनीपति बस्नेतले छनोट भएका खेलाडीहरुलाई निकट भविष्यमा आयोजना हुने पृतनापति ट्रफी–२०८३ मा सहभागी हुन उच्च शारीरिक क्षमता, अनुशासन र सहकार्य कायम गर्दै आवश्यक तयारी गर्न निर्देशन दिनुभएको छ ।
नम्बर १८ वाहिनी अड्डा अन्तरगत रणभीम गण खोटाङ, दुर्गाबक्स गण ओखलढुङ्गा र पशुपतिप्रसाद गण उदयपुरलाई सहभागी गराइएको थियो । यही वैशाख–२ गतेदेखि १२ गतेसम्म सञ्चालन गरिएको वाहिनी ट्रफी प्रतियोगितामा दुर्गाबक्स गण ओखलढुङ्गा दोस्रो र पशुपतिप्रसाद गण उदयपुर तेस्रो भएको छ ।
वाहिनीपति ट्रफी प्रतियोगितामा भलिबल, बास्केटबल, तेक्वान्दो, स्वीमिङ, बक्सिङ, फुटबल, एथलेटिक्स, जुडो र सुटिङका खेलहरु समावेश रहेको आयोजकले जनाएको छ । वाहिनीपति ट्रफी–२०८३ अन्तरगत रणभीम गण मुडे ब्यारेकले खोटाङमा भलिबल र बास्केटबल प्रतियोगिता आयोजना गरेको थियो ।
