
खोटाङ, २ असार । खोटेहाङ गाउँपालिकाले खोटाङ र उदयपुर जोड्ने सुनकोशीस्थित फोक्सिङटारको मोटरेबल पुल निर्माणका लागि जनस्तरबाट पहल थालेको छ । बाढीले बगाएर अलपत्र बनेको फोक्सिङटार पुल पुनः निर्माण गर्न सङ्घीय सरकारले आवश्यक बजेट नछुट्याएपछि स्थानीय सरकार, नागरिक समाज तथा अन्य सरोकारवाला निकायसँग सहकार्य गरेर पुल निर्माण गर्ने भएको हो ।
तराईसँग सिधा यातायात सेवा जोड्ने फोक्सिङटार पुल दुई वर्षअघि बाढीले बगाएपछि पुनः निर्माण गर्न छिमेकी पालिकाहरुसँग समन्वय गर्ने निर्णय गरिएको गाउँपालिका प्रमुख उदिमबहादुर राई ‘मुक्ति’ले जानकारी दिनुभएको छ । “सङ्घीय सरकारको कार्यक्रममा फोक्सिङटार पुन पुनः निर्माणका लागि बजेट उपलब्ध गराएको छैन । बजेट बन्नुअघि हारगुहार गरेका थियौँ । हाम्रो कुरा सुनुवाइ भएन”, उहाँले भन्नुभयो, “स्थानीय सरकारले बजेट बनाइरहेका छन् । सबै स्थानीय तहसँग कुरा भएको छ । प्राविधिक मूल्याङ्कन गरेर पुनः निर्माणको काम सुरु गर्छौँ ।”
गाउँपालिकाको कार्यालय खोटाङबजारमा मङ्गलबार बसेको सर्वपक्षीय भेलाले गाउँपालिका प्रमुख मुक्तिको संयोजकत्वमा १५१ सदस्यीय फोक्सिङटार पुल पुनः निर्माण पहल समिति गठन गरेको छ । सर्वपक्षीय भेलाबाट गठित पहल समितिले फोक्सिङटार पुल पुनः निर्माणका लागि आवश्यक बजेट उपलब्ध गराउने माथिल्लो तहको सरकारहरुसँग डेलिगेसन जाने र बजेट उपलब्ध नगराएको खण्डमा आफ्नै पहलमा पुनः निर्माणको प्रकृयाहरु अगाडि बढाउने निर्णय गरेको हो ।
कालोपत्रको काम भइरहेको सगरमाथा लोकमार्ग अन्तरगत दिक्तेल–गाईघाट सडकखण्डको फोक्सिङटारमा मोटरेबल पक्की पुल नहुँदा जिल्लावासीले सास्ती भोग्दै आएका छन् । सङ्घीय सरकारले खोटाङ्गे नागरिकलाई तराईसँग विच्छेद गरेर नाकाबन्दी गर्न खोजेको सर्वपक्षीय भेलामा सहभागीहरुले आरोप लगाएका छन् ।
फोक्सिङटार पुल पुनः निर्माणमा सरकारले बेवास्ता गरेपछि जिल्लास्थित सबै स्थानीय तह, जनप्रतिनिधि, कर्मचारी, शिक्षक, विभिन्न पेशा÷व्यवयसाय सञ्चालन गर्दै आएका जिल्लावासीसँग चन्दा सङ्कलन अभियान सञ्चालन गरिने जनाइएको छ । जिल्लाका कर्मचारी र जनप्रतिनिधिले महिना दिनको तलब तथा सेवासुविधा जम्मा गरेको खण्डमा फोक्सिङटार पुल पुनः निर्माण गर्न सकिने सहभागीले बताएका छन् ।
जिल्लावासीको दैनिक जीवनसँग प्रत्यक्ष जोडिएको फोक्सिङटार पुल पुनः निर्माणका बारेमा सङ्घीय सरकाले बेवास्ता गरेर बजेट नै नराख्नु दुःखद् भएको गाउँपालिका उपप्रमुख रुपेश राईले बताउनुभएको छ । “सबै क्षेत्रका नागरिकप्रति जिम्मेवार हुनुपर्ने सङ्घीय सरकार खोटाङ्गे नागरिकप्रति उदासिन देखियो । सङ्घीय सरकारले पक्षपात गरेपछि चन्दा सङ्कलन गरेर फोक्सिङटार पुल पुनः निर्माण गर्ने निर्णय गरेका हौँ”, उहाँले भन्नुभयो, “बाढीले बगाएको फोक्सिङटार पुल पुनः निर्माण गर्न करिब रु १५ करोड बजेट आवश्यक पर्ने अनुमान गरिएको छ । सबैभन्दा अगाडि लागत सर्भेक्षण गर्न प्राविधिक टोली खटाउँछौँ । प्राविधिक टोलीको प्रतिवेदन आएपछि काम सुरु गर्छौँ ।”
खोटाङलाई पूर्वी तराईका विभिन्न जिल्लासँग जोड्ने छिटो र सिधा सडकखण्डमा पर्ने फोक्सिङटार पुल वि.सं. २०८१ असोज–१२ गते आएको भीषण बाढीले बगाएको थियो । देशभर ठूलो क्षति गर्नेगरी आएको बाढीले फोक्सिङटार पुल बगाएपछि पुनः निर्माण नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले बजेट व्यवस्थापनका लागि अर्थमन्त्रालय समक्ष माग गरिएको थियो ।
खोटाङको खोटेहाङ गाउँपालिका–९ लिच्किराम्चे र उदयपुरको रौतामाई गाउँपालिका–५ आँपटार जोड्ने फोक्सिङटारको मोटरेबल पुल पुनः निर्माण गर्न तत्कालीन प्रधानमन्त्री केपी शर्माओली नेतृत्वको सरकारले बजेट सुनिश्चित गरेको बताइएको थियो । तत्कालीन अर्थमन्त्री विष्णुप्रसाद पौडेलले रु ३५ करोड बजेट सुनिश्चित गरेको नेपाल कम्युनिष्ट पार्टी (एमाले)का केन्द्रीय सदस्य एवम् संविधानसभा सदस्य विशाल भट्टराईले सार्वजनिक कार्यक्रममार्फत जानकारी दिनुभएको हो ।
निर्माण कम्पनी गौरी पार्वती वाइपी जेभीले फोक्सिङटारमा निर्माण गरेको मोटरेबल पुल ‘फिनिसिङ’ गर्न र हस्तान्तरण गर्न बाँकी छँदै वि.सं. २०७९ पुस–७ गतेदेखि सञ्चालनमा ल्याइएको थियो । दिक्तेल–गाईघाट सडकखण्ड (१०१ किलोमिटर) अन्तरगत फोक्सिङटारमा बनेको १२० मिटर लामो ‘आर्क’ डिजाइनको मोटरेबल पक्की बाढीले बगाएपछि हिउँदभर सञ्चालन हुनेगरी अस्थायी बेलिब्रिज जडान गर्ने गरिएको छ ।
