
खोटाङ, ३ जेठ । वराहपोखरी गाउँपालिकाले फलफूल प्रशोधन सम्बन्धी आधारभूत तालिम सुरु गरेको छ । स्थानीयस्तरमा उत्पादन भएका फलफूललाई प्रशोधन गरेर प्रशोधित कृषि उपज बिक्रीवितरण गर्दै किसानको आम्दानीको स्रोत वृद्धि गराउन गाउँपालिकाले तालिम आयोजना गरेको हो ।
यही असार–१ गतेबाट सुरु गरिएको आधारभूत तालिम असार–८ गतेसम्म सञ्चालन हुने गाउँपालिकाले जनाएको छ । तालिममा सहभागीलाई फलफूलको जुस, ब्राण्डी, जाम, जेली, वाइन लगायतका परिकार उत्पादन गर्ने सीप सिकाइने गाउँपालिकाको कृषि शाखा प्रमुख दिनेश लुइटेलले जानकारी दिनुभएको छ ।
तालिममा गाउँपालिकाभित्रका २४ जना किसानको सहभागिता रहेको जनाइएको छ । ‘उत्पादनमा उपाध्यक्ष’ कार्यक्रम अन्तरगत गाउँपालिकाबाट विनियोजित रु चार लाखमा तालिम आयोजना गरिएको हो ।
तालिममा स्थानीय किसानले उत्पादन गरेको फलफूलको मूल्य अभिवृद्धिमा टेवा पुग्ने अपेक्षा गरिएको गाउँपालिकाका उपाध्यक्ष भुवलराज राईले जानकारी दिनुभएको छ । तालिममा शुभ कृषि फार्मका प्रबन्ध÷निर्देशक शुभचन्द्र राईले सहजीकरण गरिरहनुभएको छ ।
गाउँपालिकाको कार्यालयमा आयोजित तालिमको उद्घाटन गाउँपालिका अध्यक्ष शालिकराम बञ्जराले ब्यानर पढेर गर्नुभएको थियो । उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै गाउँपालिका अध्यक्ष बञ्जराले तालिमका सिकेको सीपलाई व्यवहारमा उतार्न सहभागी किसानलाई आग्रह गर्नुभएको छ ।
परम्परागत रुपमा कृषिबाली उत्पादन गर्दै आएका स्थानीय किसान गाउँपालिकाले निःशुल्क उपलब्ध गराएको फलफूल प्रशोधन सम्बन्धी तालिममा सहभागी हुन पाउँदा हर्षित छन् । आफूले उत्पादन गरेका फलफूल प्रशोधन गरेर बजारमा पुग्ने भएपछि तालिममा सहभागी किसानहरु हर्षित भएका हुन् ।
