Thursday, July 30

खेलकुदको बजेट अनियमिततामा संलग्नलाई कारबाहीको माग गर्दै प्रशासनमा ज्ञापन

खोटाङ, ३ असार । खेलकुदको बजेट अनियमिततामा संलग्नलाई कारबाहीको माग गर्दै खेलकुदसँग सम्बद्ध सङ्घ संस्थाहरूले जिल्ला प्रशासन कार्यालय खोटाङमा ज्ञापनपत्र बुझाएका छन् । दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि कोशी प्रदेश खेलकुद विकास बोर्डले पठाएको बजेट खेलकुद विकास समिति खोटाङका अध्यक्ष रमेश राई ‘महेश’ र कार्यालय प्रमुख लीलाभक्त केसीले हिनामिना गरेको भन्दै तत्काल कानूनी कारबाहीको प्रक्रिया अगाडि बढाउन बुधबार ज्ञापनपत्र बुझाएका हुन् ।

अध्यक्ष राई र कार्यालय प्रमुख केसीको मिलेमतोमा खेलकुद विकास बोर्डले पठाएको रु आठ लाखमध्ये रु छ लाख ५६ हजार गरेको पाइएको छ । दिक्तेलस्थित कृषि विकास बैङ्कमा रहेको खाताबाट निकालेको रकम तत्काल फिर्ता गराउनुका साथै रकम अपचलनमा संलग्नलाई कानूनी कारबाहीको माग गर्दै ज्ञापन पत्र बुझाएका हुन् ।

वि.सं. २०८१ माघ–१९ गते रु ३८ हजार, चैत–११ गते रु एक लाख २५ हजार, चैत–३१ गते रु चार लाख २० हजार, वि.सं. २०८२ वैशाख–२३ गते दश हजार, साउन–११ गते रु ४३ हजार र माघ–११ गते रु ४० हजारगरी रु छ लाख ७६ हजार निकासा गरेको पाइएको छ । बैङ्किङ कारोबार गरिएको सबै रकम अध्यक्ष राईको नाममा निकासा भएको पाइएकाले कानूनी कारबाहीको माग गरिएको राष्ट्रिय खेलकुद प्रतिष्ठान खोटाङका अध्यक्ष सञ्जयकुमार राईले जानकारी दिनुभएको छ ।

खेल कार्यक्रमका लागि प्राप्त रकम कार्यक्रम नै नगरी हिनामिना गरेको जानकारी पाएपछि कोशी प्रदेश खेलकुद विकास बोर्डले वि.सं. २०८२ जेठ–१४ गते, साउन–२० र कातिक–१७ गते रकम जम्मा गर्न पत्राचार गरेको थियो । खेलकुद विकास बोर्डले गरेको पत्राचारलाई बेवास्ता गर्दै खेलक्षेत्रलाई शून्य स्थितिमा पु¥याएकाले प्रमुख जिल्ला अधिकारीको ध्यानाकर्षण गराइएको अध्यक्ष राईको भनाइ छ ।

ज्ञापनपत्रमा जिल्ला खेलकुद विकास समितिको अध्यक्षजस्तो पदमा बसेर खेल क्षेत्रको विकास तथा खेलाडीहरूको हकहितका लागि काम गर्नु पर्नेमा उल्टै खेलकुद प्रतियोगिताका लागि प्राप्त बजेट अपचलन गरेको आरोप लगाइएको छ । जिल्लामा खेल गतिविधिलाई शून्य बनाउने र दुई वर्षसम्म राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता नगरी खेलाडीहरूको खेल खेल्न पाउने अवसरबाट वञ्चित गरेर मनोबल गिराउने तथा सिङ्गो खेल क्षेत्रलाई पछाडि उनीहरुले बताएका छन् ।

प्रदेश खेलकुद विकास बोर्डले पठाएको रु आठ लाखमध्ये रु छ लाख ५६ हजार अध्यक्ष राईले पेश्की वापत लिएको र रु २० हजार मसलन्दमा खर्च भएको कार्यालय प्रमुख केसीले बताउनुभएको छ । अन्य रु एक लाख ४४ हजार भने वि.सं. २०८१ असारमा बुइपामा भएको प्रदेशस्तरीय महिला फुटबल प्रतियोगितामा खर्च भएको जनाइएको छ ।

अध्यक्ष राईले गलत मनसायले रकम निकासा नगरेको उल्लेख गर्दै पेश्कीवापत लिएको रकम तीन दिनभित्रै जम्मा गर्ने गत जेठ–३० गते बताउनुभएको थियो । तर, अहिलेसम्म पनि फिर्ता नगरेकाले ज्ञापनत्र बुझाउनु परेको नेपाल सितोरियो कराते सङ्घ खोटाका अध्यक्ष मिलन कसजूले बताउनुभएको छ ।

खेलाडीहरुले बुझाएको ज्ञापनपत्र बुझ्नुहुँदै प्रमुख जिल्ला अधिकारी रेखा कँडेलले रकम हिनामिना भएको बारेमा छलफल गर्ने बताउनुभएको छ । ज्ञापनपत्रमा नेपाल कराते महासङ्घ खोटाङका अध्यक्ष सुमन राई, जिल्ला खेलकुद कबड्डी सङ्घ खोटाङका अध्यक्ष चन्द्रकुमार श्रेष्ठ, जिल्ला ब्याडमिन्टन सङ्घ खोटाङका अध्यक्ष पर्शुराम थापा ‘आशिष’, नेपाल सितोरियो कराते सङ्घ खोटाङका अध्यक्ष मिलन कसजू, जिल्ला एथ्लेटिक्स सङ्घ खोटाङका उपाध्यक्ष धनिराम राई, नेपाल तेक्वान्दो सङ्घ खोटाङका सचिव मोहन राई, नेपाल खेलकुद प्रतिष्ठानका अध्यक्ष सञ्जयकुमार राई, कराते अन्तर्राष्ट्रिय प्रशिक्षक मोतिचन्द्र राई, भलिबल अन्तर्राष्ट्रिय प्रशिक्षक जितेन्द्र राई, भलिबल प्रशिक्षक तथा निर्णायक मिलन राई, जिल्ला बुद्धिचाल सङ्घ खोटाङका उपाध्यक्ष कृष्ण गुरुङ र फुटबल खेलाडी तथा निर्णायक शैलेन्द्र बजिमयले हस्ताक्षर गर्नुभएको छ ।

प्रशासनमा बुझाइएको ज्ञापनपत्रको बोधार्थ अख्तियार दुरुपयोग अनुसन्धान आयोग टङ्गाल काठमाडौँ, युवा तथा खेलकुद मन्त्रालय सिंहदरबार, कोशी प्रदेश मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय विराटनगर, सामाजिक विकास मन्त्रालय कोशी प्रदेश, राष्ट्रिय खेलकुद परिषद त्रिपुरेश्वर, प्रदेश खेलकुद विकास बोर्ड विराटनगर पठाइएको छ । खेलकुल विकास समितिका अध्यक्ष राई र कार्यालय प्रमुख केसीले रकम हिनामिना गरेको पाइएपछि यस वर्ष जिल्लामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितासमेत गरिएको छैन ।