Tuesday, July 28

महिलासँग एउटै कोठामा फेला परेका खेलकुद अध्यक्षविरुद्ध जबरजस्ती करणीको जाहेरी

खोटाङ, १३ असार । जिल्ला खेलकुद विकास समिति खोटाङका अध्यक्ष रमेश राई ‘महेश’विरुद्ध जबरजस्ती करणीमा जाहेरी परेको छ । एक महिलासँग बिहीबार राति एउटै कोठामा फेला पारेपछि स्थानीयको दबाबमा पक्राउ परेका अध्यक्ष राईविरुद्ध जिल्ला प्रहरी कार्यालय खोटाङमा जाहेरी परेको हो ।

स्थानीयले दिएको जानकारीको आधारमा प्रहरी नियन्त्रणमा परेका जिल्ला खेलकुद विकास समिति खोटाङका अध्यक्ष रमेत राईविरुद्ध जबरजस्ती करणीमा शुक्रबार साँझ जाहेरी परेको जिल्ला प्रहरी प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी नायव उपरीक्षक प्रकाश बुढाथोकीले जानकारी दिनुभएको छ । “स्थानीयले एक महिलासँग राति एउटै कोठामा भेटेपछि रमेश राईलाई नियन्त्रणमा लिएका रहेछन् । उनीहरुले शुक्रबार बिहान २ः४५ बजे प्रहरीलाई घटनास्थलमा बोलाएर बुझाएका थिए”, उहाँले भन्नुभयो, “दिनभर कोही सम्पर्कमा आएनन् । बेलुकी जाहेरी आएपछि अनुसन्धान प्रक्रिया अघि बढाइको छ ।”

जबरजस्ती करणी आरोपमा जाहेरी परेपछि प्रहरी नियन्त्रणमा रहेका अध्यक्ष राईको स्वास्थ्य परीक्षण गरेर अनुसन्धानका लागि हिरासतमा राखिएको जनाइएको छ । जाहेरी लिएर आएकी पीडित भनिएका महिलाको समेत स्वास्थ्य परीक्षण गरेर आफन्तको जिम्मा लगाइएको प्रहरी नायब उपरीक्षक बुढाथोकीले जानकारी दिनुभएको छ ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–७ दोर्पाचिउरीडाँडा स्थायी घर भएका अध्यक्ष राई यसअघि खेलकुदको रकम हिनामिनामा मुछिएका थिए । दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि कोशी प्रदेश खेलकुद विकास बोर्डले पठाएको बजेट अध्यक्ष राई र कार्यालय प्रमुख लीलाभक्त केसीले हिनामिना गरेको भन्दै खेलकुदसँग सम्बन्धित विभिन्न सङ्घसङ्गठनले तत्काल कानूनी कारबाहीको प्रक्रिया अगाडि बढाउन माग गर्दै गत बुधबार जिल्ला प्रशासन कार्यालय खोटाङमा ज्ञापनपत्र बुझाएका थिए ।

अध्यक्ष राई र कार्यालय प्रमुख केसीको मिलेमतोमा खेलकुद विकास बोर्डले पठाएको रु आठ लाखमध्ये रु छ लाख ५६ हजार गरेको पाइएपछि कानूनी कारबाहीको माग गरिएको राष्ट्रिय खेलकुद प्रतिष्ठान खोटाङका अध्यक्ष सञ्जयकुमार राईले जानकारी दिनुभएको छ । अध्यक्ष राई र कार्यालय प्रमुख केसीले दिक्तेलस्थित कृषि विकास बैङ्कमा रहेको खाताबाट छ पटकमा रककम निकालेको खुलासा भएको छ ।

वि.सं. २०८१ माघ–१९ गते रु ३८ हजार, चैत–११ गते रु एक लाख २५ हजार, चैत–३१ गते रु चार लाख २० हजार, वि.सं. २०८२ वैशाख–२३ गते दश हजार, साउन–११ गते रु ४३ हजार र माघ–११ गते रु ४० हजारगरी रु छ लाख ७६ हजार निकासा गरेको पाइएको छ । बैङ्किङ कारोबार गरिएको सबै रकम कार्यालय प्रमुख केसीको संलग्नतामा अध्यक्ष राईको नाममा निकासा भएको पाइएकाले दुवै जनालाई कानूनी कारबाहीको माग गरिएको खेलाडीहरुले बताएका छन् ।

खेल कार्यक्रमका लागि प्राप्त रकम कार्यक्रम नै नगरी हिनामिना गरेको जानकारी पाएपछि कोशी प्रदेश खेलकुद विकास बोर्डले वि.सं. २०८२ जेठ–१४ गते, साउन–२० र कातिक–१७ गते रकम जम्मा गर्न पत्राचार गरेको थियो । खेलकुद विकास बोर्डले गरेको पत्राचारलाई बेवास्ता गर्दै खेलक्षेत्रलाई शून्य स्थितिमा पु¥याएकाले कारबाहीका लागि प्रमुख जिल्ला अधिकारीको ध्यानाकर्षण गराइएको अध्यक्ष राईले बताउनुभएको छ ।

ज्ञापनपत्रमा जिल्ला खेलकुद विकास समितिको अध्यक्षजस्तो पदमा बसेर खेल क्षेत्रको विकास तथा खेलाडीहरूको हकहितका लागि काम गर्नु पर्नेमा उल्टै खेलकुद प्रतियोगिताका लागि प्राप्त बजेट अपचलन गरेको आरोप लगाइएको छ । जिल्लामा खेल गतिविधिलाई शून्य बनाउने र दुई वर्षसम्म राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता नगरी खेलाडीहरूको खेल खेल्न पाउने अवसरबाट वञ्चित गरेर मनोबल गिराउने तथा सिङ्गो खेल क्षेत्रलाई पछाडि उनीहरुले बताएका छन् ।

प्रदेश खेलकुद विकास बोर्डले पठाएको रु आठ लाखमध्ये रु छ लाख ५६ हजार अध्यक्ष राईले पेश्की वापत लिएको र रु २० हजार मसलन्दमा खर्च भएको कार्यालय प्रमुख केसीले बताउनुभएको छ । खेलाडीहरुले बुझाएको ज्ञापनपत्र बुझ्नुहुँदै प्रमुख जिल्ला अधिकारी रेखा कँडेलले रकम हिनामिना भएको बारेमा छलफल गर्ने बताउनुभएको थियो । यद्यपि, अहिलेसम्म कुनै छलफल भएको छैन ।

प्रशासनमा बुझाइएको ज्ञापनपत्रको बोधार्थ अख्तियार दुरुपयोग अनुसन्धान आयोग टङ्गाल काठमाडौँ, युवा तथा खेलकुद मन्त्रालय सिंहदरबार, कोशी प्रदेश मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय विराटनगर, सामाजिक विकास मन्त्रालय कोशी प्रदेश, राष्ट्रिय खेलकुद परिषद त्रिपुरेश्वर, प्रदेश खेलकुद विकास बोर्ड विराटनगर पठाइएको छ । खेलकुल विकास समितिका अध्यक्ष राई र कार्यालय प्रमुख केसीले रकम हिनामिना गरेको पाइएपछि यस वर्ष जिल्लामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितासमेत गरिएको छैन ।