
खोटाङ, ३१ असार । जिल्ला कारागार खोटाङमा कैदी भुक्तान गरिरहेका एक कैदीको सुतेकै अवस्थामा मृत्यु भएको छ । सवारी ज्यान मुद्धामा दिक्तेलस्थित मुडेमा रहेको जिल्ला कारागारमा कैद भुक्तान गरिरहेका साकेला गाउँपालिका–४ मात्तिम पारुङका २३ वर्षीय निसान राईको मृत्यु भएको हो ।
असार–३० गते बेलुकाको खाना खाएपछि सुतेका राई मध्यराति बेहोस अवस्थामा भेटिएको कारागारका सूचना अधिकारी कपिन्द्र कठायतले जानकारी दिनुभएको छ । बेहोस अवस्थामा भेटिएपछि राति १ ः ५० बजे जिल्ला अस्पताल दिक्तेल पु¥याइएको थियो तर, अस्पतालले तत्कालै मृत घोषणा गरेको हो ।
अस्पताल ल्याइपु¥याउँदा कैदीलाई मृत्यु भइसकेको अवस्थामा पाइएको अस्पतालका डा. पुष्कल राईले जानकारी दिनुभएको छ । “मृत्युको कारण खुलेको छैन । शव परीक्षणपछि मात्रै मृत्युको कारण खुल्छ”, उहाँले भन्नुभयो, “मृतकको शव परीक्षण गृहमा राखिएको छ । आफन्त आएपछि कानूनी प्रक्रिया पूरा गरेर परीक्षण गर्छौँ ।”
कारागारमा घटनाको विषयमा अहिलेसम्म आधिकारिक जानकारी नआएको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी प्रहरी निरीक्षक निराजन बस्नेतले जानकारी दिनुभएको छ । मृतक राई बेलुकाको खाना खाएपछि राति १२ ः ४५ बजेको ‘वल्डकप हेर्न’ उठाउन भन्दै सुतेको जनाइएको छ ।
वल्डकप सुरु भएपछि उठाउँदा उनी बेहोस अवस्थामा भेटिएको कैदीबन्दीहरुले बताएका छन् । बेहोस अवस्थामा भेटिएको जानकारी आएपछि उनलाई अस्पताल लगिएको सूचना अधिकारी कठायतले जानकारी दिनुभएको छ ।
चालकको रुपमा कार्यरत रहेको अवस्थामा मृतक राई सवारी ज्यान मुद्धामा दुई वर्षका लागि जेल परेका थिए । जरिवाना तिरेको खण्डमा उनी आगामी साउन–११ गते जेलमुक्त हुने अवस्था रहेको प्रहरीले जनाएको छ ।
कैंदीको मृत्युको विषयमा मृतक परिवार, प्रशासन, प्रहरी र राजनीतिक दलसँग छलफल गरेर मात्रै शव बुझ्ने आफन्त बुद्धिबोल राईले बताउनुभएको छ । घटनाको सत्यतथ्य छानबिनगरी मृत्युको कारण यकिन हुनुपर्ने मृतक पक्षको माग छ ।
सुतिरहेको अवस्थामा कैदीको मृत्य भएपछि कारागारभित्र तनाव सिर्जना भएको छ । थप अप्रिय घटना हुन नदिन सुरक्षा सतर्कता अपनाइएको जिल्ला सुरक्षा समितिका संयोजक एवम् प्रमुख जिल्ला अधिकारी रेखा कँडेलले बताउनुभएको छ ।
