
खोटाङ, ३० भदौ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीमा बाँदरलाई हानेको भरुवा बन्दुकको गोली लागेर एक व्यक्तिको मृत्यु भएको छ । खार्मीको निङ्गालेस्थित महभीरका ५४ वर्षीय भलबहादुर तामाङले बाँदरलाई हानेको गोली लागेर सोही ठाउँका ५२ वर्षीय श्यामबहादुर तामाङको मृत्यु भएको हो ।
मकैबारीमा आएको बाँदरलाई घेरा हालेर धपाउनेक्रममा आज (मङ्गलबार) दिउँसो करिब दुई बजे आफूले प्रहार गरेको भरुवा बन्दुको गोली श्यामबहादुरको टाउकोमा लाग्दा श्यामबहादुरको घटनास्थलमै मृत्यु भएको भलबहादुरले बताउनुभएको छ । “मकैबारी दैनिकजसो बाँदर आउने गथ्र्यो । साथी (श्यामबहादुर) र म धपाउन गएका थियौँ”, उहाँले भन्नुभयो, “वल्लो डाँडा र पल्लो डाँडाबाट छेकारो काटेर धपाउनेक्रममा मैले बाँदरलाई ताकेर भरुवा बन्दुक प्रहार गरेको थिएँ । त्यही बेला साथी आइपुगेछ । बाँदरको ठाउँमा साथीको टाउकोमा लागेर घटनास्थलमै मृत्यु भयो ।”
बाँदरलाई हानेको भरुवा बन्दुकको गोली साथीलाई लागेर मृत्यु भएपछि आफैले प्रहरीलाई फोन गरेर जानकारी गराएको भलबहादुरले बताउनुभएको छ । बिहानको खाना खाएर बाँदर धपाउन गएका आफन्तलाई आफ्नै गाउँका भलबहादुरले प्रहार गरेको भरुवा बन्दुकको गोली लागेर मृत्यु भएपछि मृतक श्यामबहादुरको परिवार पीडामा परेका छन् ।
भरुवा बन्दुक प्रहार गर्ने भलबहादुरले दिएको जानकारीको आधारमा प्रहरी चौकी खार्मीका टोली पुगेर घटनास्थललाई सुरक्षित गरेको जनाइएको छ । जिल्लाबाट खटिएको प्रहरी टोली आइपुगेपछि सर्जमिन गरेर मृतकको शव र बन्दुक प्रहार गर्ने भलबहादुरलाई जिल्ला पठाउने तयारी गरिएको वडा सदस्य वीरेन्द्र राईले जानकारी दिनुभएको छ ।
खार्मीमा भएको घटनाको विषयमा जानकारी पाउनासाथ अनुसन्धान गर्न जिल्लाबाट प्रहरी निरीक्षक निराजन बस्नेतको टोली परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी नायब उपरीक्षक प्रकाश बुढाथोकीले जानकारी दिनुभएको छ । घटनास्थल सदरमुकाम दिक्तेलबाट टाढा भएकाले जिल्लाबाट खटिएका प्रहरी टोली पुगेपछि मात्रै विस्तृत विवरण आउने प्रहरीले जनाएको छ ।
कृषकको सत्रूको रुपमा देखा परेको रातो बाँदर बेँसी क्षेत्रमा मकै लगायतका अन्नबाली उठाउने काम सकिएपछि अहिले लेकाली क्षेत्रमा सरेको स्थानीयले बताएका छन् । लेकाली क्षेत्रमा पर्ने निङ्गालेमा आगामी मङ्सिरसम्म मकैबाली बारीमै रहने भएकाले बाँदरको बिगबिगी बढेको किसानहरुले बताएका छन् ।
