
खोटाङ, ३० भदौ । जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारको पसल अनुगमन गर्दा रु २५ हजार बढीको म्याद नाघेका थोकवस्तु बरामद गरिएको छ । भदौ–३० गते (आज) दिउँसो दिक्तेलस्थित किरातचोकदेखि मानवअधिकार चोकसम्ममा सञ्चालित २४ वटा होलसेल तथा किराना पसलहरु अनुगमन गर्दा रु २५ हजार ९८३ बराबरको म्याद नाघेका थोवस्तु बरामद गरिएको हो ।
जिल्ला प्रशासन कार्यालय खोटाङ, घरेलु तथा साना उद्योग कार्यालय, जिल्ला प्रहरी कार्यालय, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका, खोटाङ उद्योग वाणिज्य सङ्घ लगायतको संयुक्त टोलीले अनुगमन गर्दा म्याद नाघेर अखाद्य भइसकेका उपभोग्य वस्तु बरामद गरी नष्ट गरिएको घरेलु तथा साना उद्योग कार्यालय खोटाङका प्रमुख भेषराज खत्रीले बताउनुभएको छ । अनुगमनका क्रममा स्लाईस, करेन्ट खुर्सानी पाउडर, मिक्स जुस, हजमूला, चकलेट, बिस्कुट, बिरेनुन, बेसार धुलो, डिउ, पोटेटो चिप्स, चिजबल, पानीपुरी, चाइनिज रोल, थुक्पा, मिक्स चकलेट, पापड, आटा, सानो डिउ, टमाटर सस, मेङ्गो जुस लागयतका अखाद्य वस्तु बरामद गरी नष्ट गरिएको हो ।
जिल्लामा सञ्चालित होलसेल तथा खुद्रा पसलमा वर्षौँदेखि म्याद नाघेका तथा गुणस्तरहीन थोकवस्तु बिक्री भइरहेको पाइएको छ । म्याद नाघेका तथा गुणस्तरहीन थोकवस्तु खुलेआम बिक्रीवितरण भइरहँदा पनि सम्बन्धित निकायले अहिलेसम्म त्यस्ता व्यापारीलाई कारबाहीको दायरामा ल्याएका छैनन् ।
जिल्लामा म्याद नाघेका तथा गुणस्तरहीन थोकवस्तु नियन्त्रण गर्न र कालोबजारी रोक्न गरिने अनुगमन औपचारिकता पूरा गर्नमात्र गर्ने गरेको समाचार स्रोतको दाबी छ । जिल्लामा गरिने बजार अनुगमन अगावै आफ्ना सदस्यहरुलाई सतर्क रहन सम्बन्धित निकायले जानकारी गराउने गरेको स्रोतले जनाएको छ ।
