Wednesday, September 16

मुखमा घाँस च्यापेर दिनरात सडकमा डुल्ने ब्यानबहादुरको माया घर नेपालद्धारा उद्धार

खोटाङ, ३१ भदौ ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मा खोटाङबाट बेवारिसे अवस्थाका एक जना सडक मानवको उद्धार गरिएको छ । मानसिक सन्तुलन गुमाएर लामो समयदेखि खुला सडकमा जीवन बिताउदैँ आउनुभएका सोल्मास्थित रबुटोलका ५१ वर्षीय ब्यानबहादुर श्रेष्ठको आज (बुधबार) उद्धार गरिएको हो ।

आफन्तले विभिन्न अस्पतालहरुमा लगेर लामो समय उपचार गराउँदा ठीक नभएपछि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको पहल, वडा कार्यालय सोल्माको सिफारिस र माया घर नेपाल सुनसरी ईटहरीको समन्वयमा उद्धार गरी ‘आफ्नो घर नेपाल’ बिर्तामोड झापा पठाइएको माया घर नेपालका खोटाङ प्रतिनिधि प्रमेश ढकालले जानकारी दिनुभएको छ । श्रेष्ठलाई उद्धार गर्न माया घर नेपाल ईटहरीका मेची प्रतिनिधि कौशल भण्डारी, नगरप्रमुख तीर्थराज भट्टराई, प्रमुख जिल्ला अधिकारी महेशकुमार गुरुङ, वडा अध्यक्ष ध्रुवबिक्रम राई लगायत सोल्मा पुग्नुभएको थियो ।

सोल्मास्थित सडकबाट उद्धार गरिएका श्रेष्ठलाई सरसफाइ गराएर नयाँ लुगासमेत लगाइ दिइएको उद्धारकर्मीले बताएका छन् । शारीरिकरुपमा कमजोर भइसक्नुभएका श्रेष्ठलाई बिर्तामोड पठाउन नगरपालिकाले गाडी लगायतको व्यवस्था मिलाएको थियो ।

बेवारिसे अवस्थामा दिनरात सडकमा डुलिरहनुहुने श्रेष्ठका बुबा बेपत्ता भएको र आमाको मृत्यु भइसकेको वडाध्यक्ष राईले जानकारी दिनुभएको छ । घरपरिवारले उपचार गर्दा ठीक नभएपछि बेवारिसे बनेर डुलिरहनुहुने श्रेष्ठलाई उद्धार गरेर आफ्नो घर नेपाल पठाइएसँगै सहज जीवन यापन गर्न पाउने हुनुभएको छ ।

अविवाहित खवस्थाका श्रेष्ठ दिक्तेल बजार लगायत मानिसको भीडभाड हुने स्थानहरुमा हातमा थोत्रे लुगा बोकेर र मुखमा घाँस च्यापेर हिड्ने गर्नुहुन्थ्यो । सडकमा डुलिरहनुहुने श्रेष्ठले पछिल्लो समय दिक्तेल बजार तथा आसपासका सर्वसाधारणलाई पैसा मागेर हैरान बनाउँदै आउनुभएको थियो ।

माया घर नेपालले यसअघि कोठामा थुनिएर बस्न बाध्य खोटाङका नौँ वर्षीय बालकसहित सहाराविहीन चार बालबालिकाको उद्धार गरिसकेको छ । छ वर्षदेखि आफ्नै घरको एउटा कोठामा थुनिएर बसेका ऐसेलुखर्क गाउँपालिका–१ राखाबाङ्देलका नौँ वर्षीय बालक अङ्गबहादुर थापा र सहाराविहीन नौँ वर्षीया सुजता राई तथा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुइपाका ११ वर्षीय विश्वहाङ राई र १२ वर्षीय रुविन राईलाई माया घर नेपालले उद्धार गरेको हो ।

जिल्लाबाट उद्धार गरेर पठाइएका सबैजनाले सहजरुपमा जीवन यापन तथा अध्ययन गरिरहेको खोटाङ प्रतिनिधि ढकालले जानकारी दिनुभएको छ । दश स्थानीय तह रहेको जिल्लामा अझै धेरैजना सडक मानव रहेको समाचार स्रोतले जनाएको छ ।