
खोटाङ, ३१ भदौ । जिल्ला प्रहरी कार्यालय खोटाङले महिनादिनअघि बरामद गरेको एक हजार ३१५ किलोग्राम अवैध गाँजा नष्ट गरिएको छ । गत साउन–२१ गते राति दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–७ दोर्पाको वालिङस्थित मध्यपहाडी लोकमार्गबाट ट्रकमा लोड गरेर राखिएको अवस्थामा बरामद गरिएको करिब रु दुई करोड मूल्य बराबरको अवैध गाँजा प्रहरीले आज (बुधबार) नष्ट गरेको हो ।
जङ्गलमा रोकेर राखेको ट्रक शंकास्पद लागेपछि परीक्षण गर्दा गाँजा लुकाएर राखेको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यलय खोटाङका सूचना अधिकारी प्रहरी निरीक्षक निराजन बस्नेतले जानकारी दिनुभएको छ । प्रदेश १–०२–००२ ख ००८३ नम्बरको ट्रकमा चालक बस्ने भाग र पछाडि डालाको बीच भागमा फल्स बटम बनाएर राखेको अवस्थामा अवैध गाँजा भेटिएको प्रहरीले जानकारी दिएको थियो ।
दिक्तेल–चखेवाभञ्ज्याङ सडकखण्डको वालिङमा रोकेर राखिएको ट्रकमा गाँजा भेटिए पनि चालक वा अन्य कोही पनि भेटिएका थिएनन् । गाँजा बोक्ने ट्रकको चालक फरार रहेको र गाँजा धनीको पहिचान हुन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी नायब उपरीक्षक प्रकाश बुधाथोकीले जानकारी दिनुभएको छ ।
बेवारिसे अवस्थामा जङ्गलमा गाँजासहित भेटिएको ट्रकको धनीलाई भने, मङ्गलबार पक्राउ गरिएको प्रहरी जनाएको छ । महिनादिनअघि बरामद गरिएको गाँजा कानूनी प्रक्रिया पूरा गरेर बुधबार जिल्ला अदालत खोटाङ परिसरमा लगेर नष्ट गरिएको हो ।
सडकमा भेटिएका गाँजासहितको ट्रक नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय खोटाङमा राखिएको थियो । सडकमा बेवारिसे अवस्थामा गाँजा लोड गरिएको ट्रक छाडेर फरार हुने चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
