
खोटाङ, १ असोज । नेपाली काँग्रेस शेरबहादुर देउवा समूहले १५ औँ केन्द्रीय महाधिवेशन तयारीका लागि खोटाङ संयोजकको जिम्मेवारी रोजन राईलाई दिएको छ । महाधिवेशन तयारी समितिका संयोजक डा. शशांक कोइरालाले जिल्ला प्रवक्ताको भूमिकामा रहनुभएका राईलाई आज (बिहीबार) जिल्ला संयोजकमा मनोनयन गर्नुभएको हो ।
जिल्लाका पार्टी नेता–कार्यकर्ताको राय–सुझाव तथा केन्द्रीय प्रतिनिधिको सिफारिसका आधारमा प्रवक्ता राईलाई जिम्मेवारी दिइएको मनोनयन पत्रमा उल्लेख छ । समितिको वि.सं. २०८३ भदौ–१७ र १८ गते बसेको बैठकले १५ औँ केन्द्रीय महाधिवेशन आगामी मङ्सिर–२१, २२ र २३ गते काठमाडौँमा सम्पन्न गर्ने निर्णय गरेको छ ।
महाधिवेशनअन्तरगत असोज–१५ गते वडा अधिवेशन, असोज–२० गते पालिका अधिवेशन, असोज–२३ गते प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचन क्षेत्रीय अधिवेशन, कातिक–१५ गते जिल्ला अधिवेशन र मङ्सिर–४ गते प्रदेश अधिवेशन गर्ने कार्यतालिका तय गरिएको पत्रमा जनाइएको छ । मनोनयनपत्रमा काँग्रेसले स्थापनाकालदेखि राष्ट्रिय स्वाधीनता, सार्वभौमसत्ता, नागरिक स्वतन्त्रता, लोकतन्त्र, सामाजिक न्याय तथा संवैधानिक शासनका पक्षमा निरन्तर सङ्घर्ष गर्दै लोकतान्त्रिक अभियानको नेतृत्व गर्दै आएको उल्लेख छ ।
पार्टीको केन्द्रीय कार्यसमितिको आधिकारिकतासम्बन्धी विवाद सर्वोच्च अदालतमा विचाराधीन रहेको अवस्थामा पार्टीको वैधानिक केन्द्रीय कार्यसमितिले १५ औँ महाधिवेशन सम्पन्न गर्नुपर्ने दायित्व रहेको समेत पत्रमा उल्लेख गरिएको छ । महाधिवेशनलाई लक्षित गर्दै पार्टीभित्र आवेग, उत्तेजना, गालीगलौज र षड्यन्त्रभन्दा संयमता, धैर्यता, आत्मीयता र हार्दिकताका साथ अघि बढ्नुपर्नेमा जोड दिइएको छ ।
लोकतन्त्रवादी व्यक्ति तथा समुदायको साथ र सहभागिता जुटाउँदै पार्टीलाई सबल, सक्षम र लोकप्रिय बनाउने प्रतिबद्धता पनि पत्रमा उल्लेख गरिएको छ । प्रवक्ता राईलाई जिल्ला संयोजकको जिम्मेवारी दिँदै काँग्रेसका स्थापित मूल्य, मान्यता र आदर्शलाई आत्मसात गरी खोटाङमा पार्टी सङ्गठनलाई थप मजबुत, व्यवस्थित र प्रभावकारी बनाउन भूमिका निर्वाह गर्न मनोनयनपत्रमा भनिएको छ ।
जिल्ला संयोजकमा राईको मनोनयनसँगै आगामी महाधिवेशनका लागि खोटाङमा वडा तहदेखि जिल्ला तहसम्मको सङ्गठनात्मक तयारीले गति लिने देउवा समूहले जनाएको छ । जिल्लामा पार्टीको छुट्टै गतिविधि गर्दै आएको देउवा समूहले यसअघि पार्टीका केन्द्रीय सदस्य एवम् संविधानसभा सदस्य सरस्वती बजीमयलाई भदौ–२७ गते केन्द्रीय प्रतिनिधिको रुपमा चयन गरेको थियो ।
