Thursday, September 17

श्रम संस्कृति पार्टी प्रवेश गर्ने उपाध्यक्ष र वडाध्यक्षको पद निर्वाचन आयोगद्धारा खारेज

खोटाङ, १ असोज । श्रम संस्कृति पार्टी प्रवेश गर्नुभएका बराहपोखरी गाउँपालिकाका उपाध्यक्ष भूबलराज राई र केपिलासगढी गाउँपालिका–३ बास्पानीका वडाध्यक्ष तुलाराम राई पदमुक्त हुनुभएको छ । वि.सं. २०७९ सालको स्थानीय तहको निर्वाचनमा तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)बाट निर्वाचित हुनुभएका गाउँपालिका उपाध्यक्ष भूबलराज र वडाध्यक्ष तुलारामको पद निर्वाचन आयोगले मुक्त गरेको हो ।

निर्वाचन आयोगले भदौ–३१ गते सूचना जारी गर्दै आफ्नो राजनीतिक दल त्याग गरी अन्य राजनीतिक दलमा प्रवेश गरेको आधारमा दुई जनप्रतिनिधिको पदमुक्त गरिएको जानकारी दिएको छ । सम्बन्धित राजनीतिक दलले केन्द्रीय समितिको निर्णयसहित आयोगमा उजुरी गरेपछि आयोगले गाउँपालिका उपाध्यक्ष र वडाध्यक्षको पद मुक्त गरेको हो ।

राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ३२ को उपदफा (१) तथा राजनीतिक दल सम्बन्धी नियमावली, २०७४ को नियम २२ बमोजिम दल त्याग गरेको देखिएकाले दुई जनप्रतिनिधिलाई स्वतः पद मुक्त गरिएको आयोगले सूचनामा उल्लेख गरेको छ । निर्वाचन आयोगले यसअघि श्रम संस्कृति पार्टीमा प्रवेश गर्नुभएका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुइपाका वडाध्यक्ष दिनेश राई र खोटेहाङ गाउँपालिका–३ सावाकटहरेका वडाध्यक्ष जेफर राईलाई पदमुक्त गरेको थियो ।

बुइपाका निवर्तमान वडाध्यक्ष दिनेश नेपाल कम्युनिष्ट पार्टी (एमाले)बाट दोस्रोपटक र जेफर नेपाली काँग्रेसबाट पहिलोपटक वडाध्यक्ष निर्वाचित हुनुभएको थियो । यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गर्नुभएका खोटेहाङ गाउँपालिका–४ बड्कादियालेका वडा सदस्य प्रदीप आचार्य पनि पद मुक्त हुनुभएको छ ।

निर्वाचन आयोगको बारबाहीमा परेर वडा सदस्य पद गुमाउनुभएका निवर्तमान वडा सदस्य आचार्य एमालेबाट सदस्य निर्वाचित हुनुभएको थियो । वडाध्यक्ष पद गुमाउनुभएका वडाध्यक्षहरुको ठाउँमा सम्बन्धित वडाका जेष्ठ सदस्यलाई कार्यवाहक वडाध्यक्षको जिम्मेवारी दिएर जनताको काम सुरु गरिएको सम्बन्धित राजनीतिक दलले जनाएको छ ।

दश स्थानीय तह रहेको जिल्लामा ७९ वटा वडा रहेका छन् । दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लामा छवटामा काँग्रेस तथा एमाले र तत्कालीन नेकपा (माओवादी केन्द्र) हाल नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले दुई÷दुईवटा स्थानीय तहको प्रमुख÷अध्यक्ष जितेको छ ।