कपासेभञ्ज्याङमा निर्माण गरिएको राष्ट्रिय विभूति पार्क (उद्यान) सञ्चालनमा
खोटाङ, १८ मङ्सिर । खोटेहाङ गाउँपालिका–२ वाप्लुखास्थित पर्यटकीयस्थल कपासेभञ्ज्याङमा निर्माण गरिएको ‘राष्ट्रिय विभूति पार्क (उद्यान)’ सञ्चालनमा ल्याइएको छ । गाउँपालिकाको रु ७० लाख लगानीमा निर्माण गरिएको राष्ट्रिय विभूति पार्क किरात समुदायको महान चाड साकेला उँधौलीको अवसर पारेर आज (बिहीबार) औपचारिकरुपमा सञ्चालनमा ल्याइएको हो ।
राष्ट्रिय विभूति पार्क उद्घाटन कार्यक्रममा बृहत् साकेला सिली प्रदर्शनी कार्यक्रमसमेत आयोजना गरिएको थियो । नेपालका सबै (१८ जना) राष्ट्रिय विभूतिहरुको मूर्ति राख्नेगरी गोलो घेराभित्र निर्माण गरिएको पार्क गाउँपालिका प्रमुख उदिमबहादुर राई ‘मुक्ति’, उपप्रमुख रुपेश राई र प्रमुख प्रशासकीय अधिकृत महेश राईले झण्डोत्तोलनसहित मूर्ति अनावरण गरेर औपचारिकरुपमा सञ्चालनमा ल्याउनुभएको हो ।
प्राकृतिक रुपमै पर्यटकीयस्थल रहेको कपासेभञ्ज्याङको चौतर्फी विकास गर्नका लागि स्थानीय साने विश...









